करिब २०५० साल देखि नै केहि
जुझारू युवाहरूको एउटा समुह सगरमाथा परिसरमा विशेषत खेलकुद र कलामा स्थानिय
क्षेत्रका युवाहरूको भुमिका खोज्दै अघि बढ्न जुर्मुराए । फलत केहि खेलकुद
कार्यक्रम सँगै सामान्य गाँऊ समाजमा आवश्यक पर्ने भाँडावर्तन जुटाउन देउसे नाच
कार्यक्रम सञ्चालनमा आए । बडा दशै २०५२ को अवसर पारेर साामाजिक चेतना प्रवर्द्धन
तथा कु्रीती, अन्धविश्वासलाई प्रहार गर्ने गरी बलराम गिरी बिजी को लेखन
तथा निर्देशनमा 'आमाको सपना' नाटक सगरमाथा विद्यालय
प्रांगणमा प्रदर्शन गरियो । यो नाटकले एउटा तरंग लिएर आयो
जुन एउटा परम्परा बनेर निकै वर्ष निरन्तर चलिरह्यो । यसरी नै साहित्य क्षेत्रमा
रुचि राख्ने केहि साथिहरूको सल्लाहले एउटा मुर्त रुप लियो र जन्मन पुग्यो
सप्तरङ्गी भित्ते पत्रिका । खेलकुदमा स्थानिय स्तरमा स-साना खेलाडीहरूको एउटा
सशक्त टिम फुटबलमा समेत उदियमान भएर आयो । यसरी हरेक विधामा सशक्त र प्रखर बनेर
आइरहेको युवा शक्ति समाज परिवर्तनमा आफ्नो स्पष्ट भुमिका खोजिरहेको थियो ।
आमाको सपना, अभिलाषा
र अधुरो सपनाको सफल प्रदर्शन सँगै स्थानिय स्तरमा खेलकुदमा आफ्नो पकड, सप्तरङ्गी
भित्ते पत्रिकाको प्रकाशन जस्ता सफलताले संस्थागत ढंगले अघि बढ्ने सहमति भयो ।
सगरमाथाभित्रै केहि विरोध र असहमति तथा आफुभित्रै पनि केहि नामाकरण लगायतका
विषयवस्तुको सामना गर्दै जिल्ला प्रशासन कार्यालय झापामा २०५६ साल चैत्र २२ गते
विधिवत रुपमा एउटा गैह्र सरकारी संस्थाको रूपमा 'संगम युवा परिवार' को
जन्म भयो ।
बामे सर्ने क्रममा
शिक्षामुलक छोटा नाटक, सामाजिक सचेतना तथा अन्याय र छुवाछुत विरोधी बहुदृश्य
नाटकहरु, साहित्य उत्थानका लागि कवि गोष्ठि तथा सम्मान, खेलकुदको
विकास, गायन तथा नृत्य विधामा प्रतिभा प्रस्फुटनको अवसर, जिवनदानका
रुपमा रक्तदान लगायतका क्रियाकलापहरू साजसज्जा युक्त प्रतिवेदन बनाउनका लागि हैन
वास्तवमै समाज सुधार र सामाजिक परिवर्तनका खातिर संचालित थिए । यिनै
क्रियाकलापहरुका सिको गर्दै अन्य धेरै समुहहरू साविक पृथ्वीनगरभित्र क्रियाशिल रहे
। वास्तवमै सामाजिक परिवर्तनको अगुवा संस्थाका रुपमा निकै वर्ष अग्रणि भुमिका
निर्बाह गर्न संगम युवा परिवार सफल रह्यो ।
देशमा आएको राजनैतिक उथलपुथल
सँगै केहि अफ्ठ्याराहरू तथा युवा वर्गको वैदेशिक रोजगारीको चरणले पछिल्लो चरणमा
संस्था सञ्चालनका लागि निकै अफ्यारा ब्यहोर्नुपर्यो तथापि पहिलो चरणको सहयोगको
रूपमा साउदी अरब र कतार बाट संकलित रकमबाट जुटाएका सरसामानहरूका नासोहरू अझै केहि
हामिसँगै छन । त्यसपछि केहि समय निस्क्रिय झै देखिएपनि यसको
पुरानै भुमिका फरक ढंगले फरक परिवेशमा आवश्यक छ भन्ने कुराको आत्मसात गर्दै सक्रिय
रुपमा अघि बढ्ने जमर्को हामी गरिरहेका छौं । अबको चरणमा हामी अलि क्रियाशिल भइ समय
सापेक्ष कार्यक्रमहरूका साथ अघि बढ्ने गरि एउटा दह्रो टिमका साथ अघि बढ्ने
प्रयासमा छौं यसका लागि हामीलाई हाम्रो अग्रजहरूको मार्गदर्शन तथा निरन्तर
सहयोगको खाँचोको आवश्यकता छ साथै नयाँ युवा साथिहरू पनि हातमा हात र काँधमा काँध
मिलाएर अघि बढ्न इच्छुक हुनुहुन्छ भने हामी खुला दिलले हार्दिकताका साथ स्वागत
गर्न चाहन्छौं ।
यहाँहरूको सल्लाह सुझावको हामीलाई सदैव आशा रहिरहने जानकारी समेत गराउन
चाहन्छौं ।धन्यवाद ।