Monday, October 22, 2018

संगम युवा परिवारको नयाँ कार्यसमिति

विशेष परिस्थितिका (स्वास्थ्य) कारणले संगम युवा परिवारको १८ औ अधिवेशनबाट निर्वाचित अध्यक्षले आगामी कार्यकालका लागि काम गर्न असमर्थ रहेको जानकारी गराए पश्चात संगम युवा परिवारको नयाँ कार्यसमिति २०७५ असोज २७ गतेको १९ औं साधारण सभाबाट निम्नानुसारको नयाँ कार्यसमिति चयन भएको छ :

अध्यक्ष               :                       मोहन कुमार धमला
उपाध्यक्ष            :                       देबीमाया पौडेल
सचिब                :                       फणिन्द्र दाहाल
सह-सचिब          :                       कृष्ण प्रसाद अधिकारी
कोषाध्यक्ष          :                       आशिष खनाल
सदस्य                :                         खगेन्द्र सुबेदी
सदस्य                :                       अबिना धमला
सदस्य                :                       जगन्नाथ गिरी
सदस्य                :                       गिता अधिकारी
सदस्य                :                       जगन्नाथ तिम्सिना
सदस्य                :                       दिनानाथ अधिकारी
Read More »

संगम युवा परिवार १९ औं साधारण सभा २७ असोज २०७५ अध्यक्षको प्रतिवेदन


संगम युवा परिवार
१९ औं साधारण सभा २७ असोज २०७५
अध्यक्षको प्रतिवेदन २०७५
उपस्थित सम्पूर्णमा नमस्कार गर्दै हार्दिक आभार प्रकट गर्न चाहन्छु यो महत्वपुर्ण क्षणको महत्वलाई अझ प्रगाढ बनाउनुभएकोमा,
यो सर्वविदितै छ कि संगम युवा परिवार विगत २० वर्ष देखी समाज सेवामा समर्पित छ । यो समर्पण कहिले अलि प्रभाकारी बन्यो होला कहिले अलि धिमा तथापी निरन्तरताको यात्रा जारी छ र जारी नै रहनेछ । संगम युवा परिवार वि.सं. २०५६ चैत्र २२ गते साविक पृथ्वीनगर – ५ हाल भद्रपुर -२ सगरमाथामा कार्यालय रहने गरि जिल्ला प्रशासन कार्यालय झापामा एक गैह्रसरकारी संस्थाको रुपमा विधिवत स्थापना भएको हो । अत्यन्तै महत्वपुर्ण उद्देश्यहरू लिएर स्थापना भइ केहि समयसम्म स्थानिय स्तरमा खेलकुद, साहित्य, नाटक, गित संगीत, नृत्य जस्ता विधामा उत्कृष्टता हासिल गरेतापनि सो कार्यक्रमहरूले निरन्तरता पाउन सकेन । युवा शक्तिको पलायन बढ्दै जाँदा गाँउ घरमा रहेका युवामा समेत सामाजिक क्षेत्रमा चाख घट्दै जानाले निरन्तर रुपमा उहि शाख जोगाउन गाह्रो परेकै हो । तथापि सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापित कैयन संस्थाहरूको नामो निशान मेटिसकेको अवस्थामा समेत कुनै न कुनै ढंगबाट जीवित रहेको प्रत्याभुत गराउन सफल रहनुले हामी असफल भएका हैनौ भन्ने कुराको बोध गराएको छ । बदलिदो परिस्थितिमा बदलिदो आवश्यकता अनुसार समाज परिवर्तनका लागि परिणाममुखी क्रियाकलापहरू संचालन गर्न अपरिहार्य रहेको र अब पुन संस्थाको गतिविधी र क्रियाकलापलाई व्यापक रूपमा सक्रिय गरी स्थानिय स्तरमा चेतना र क्षमताको अभिवृद्धी गर्दै अघि बढ्नुपर्ने आवश्यकता खट्केको छ ।
सर्वप्रथम संगम युवा परिवारले हालसम्म गरेका क्रियाकलापहरूको संक्षिप्त जानकारी :
क)     रक्तदान कार्यक्रम
ख)    स्वास्थ्य सहयोग कार्यक्रम
ग)      सामाजिक कुसंस्कृति विरुद्ध बहुदृश्य नाटक मंचन
घ)     कवि गोष्ठि
ङ)     हाजिरि जवाफ प्रतियोगिता
च)     विद्यालयलाई सहयोग (कम्प्युटर)
छ)     धार्मिक, पुरातात्विक तथा आफ्नै परिसरको सरसफाइ
ज)     खेलकुद
झ)     नृत्य तथा गायन प्रतियोगिता
ञ)     म्याराथुन दौड
ट)      संदेश मुलक छोटा नाटकहरू प्रदर्शन
ठ)      वारावरण संरक्षणका संदेश पोष्टरिङ, पम्प्लेटिङ
ड)      बाल बालिका विशेष कार्यक्रमहरू
ढ)      युवा लक्षित तालिमहरू
ण)     स्थानिय समुदायमा आयमुलक कार्य गर्नको लागि गृह बचत कार्यक्रम
स्थानिय स्तरमा विभिन्न सामाजिक क्रियाकलापहरू सँगसँगै राष्ट्रिय अभियानहरूलाई समेत हाम्रा कार्यक्रममा जोडेर जान सक्यौ भने पक्कै पनि हाम्रो इतिहासले हामीलाई निकै सशक्त भुमिकामा प्रस्तुत गर्ने कुरामा दुइमत छैन । युवाहरूको खडेरी हाम्रो गाउँमा मात्र नभएर देशमा नै परेको अवस्थामा स्वार्थरहित ढंगले विना कुनै आर्थिक स्रोत सामाजिक सेवा गर्ने कार्य वास्तवमै कठिन रहेछ । साथसाथै गाउँमै रहेका युवाशक्तिहरू पनि जिविकोपार्जनका लागि अत्यन्त व्यस्त रहेको यो अवस्था निकै चुनौतिपुर्ण रहेकोछ । तथापी संगम युवा परिवारले आ.व. २०७४/७५ मा यि चुनौतीहरूलाई सामना गर्दै निकै महत्वपुर्ण कार्यहरू गरेको कुरा यहाँहरूको सामु छर्लङ्गै छ । म सरसर्ती यो प्रतिवेदनमा संगम युवा परिवारले आ.व. २०७४/७५ मा गरेका गतिविधी/क्रियाकलापहरू संक्षिप्त रुपमा प्रस्तुत गर्न लागिरहेछु ।
आ.व. २०७४/७५ मा संगम युवा परिवारले सम्पन्न गरेका कार्यक्रमहरू :
१. बिश्व पर्यटन दिवसको अवसरमा स्थानिय क्षेत्रहरूको सरसफाइ तथा सरसफाइका लागि रिङ् व्यवस्थापन : २०७५ साल असोज    ११ गते सगरमाथा मा.वि.का बाल क्लबका विद्यार्थीहरू सहित संगम युवा परिवारले सगरमाथा परिसरबाट सरसफाई शुरू गरी पर्यटकीय क्षेत्र किचकवध, कमलधाप तथा स्मशानघाटको सरसफाई कार्यक्रम सम्पन्न गरियो । यसै अवसरमा १० थान सिमेन्ट रिंगहरु समेत राखी फोहोरको उचित व्यवस्थापन गर्न पहलकदमी गरिएको थियो । भद्रपुर वडा नं २ को मात्रै नभएर समग्र भद्रपुरको नै पर्यटन विकासको महत्वपुर्ण क्षेत्र बन्नसक्छ भन्ने आधारलाई थप उजागर गर्न यो कार्यक्रम संचालन गरिएको थियो । दिगो पर्यटन र स्थानिय सरसफाइका प्लेकार्ड हरू सहित यो कार्यक्रम सम्पन्न गरिएको थियो ।
२. रूपा राना बचाउ अभियान : भद्रपुर नगरपालिका वडा नं २ कि रुपा राना जो ब्लड क्यान्सरबाट पिडित थिइन, उनैको उपचार सहयोगको लागि २०७५ असोज ११ गते बेलुकी विभिन्न सहयोगी हातहरूको सहयोगमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरियो । जसमा १०४ सहयोगी हातहरूबाट जम्मा ५१३६०।– जम्मा भएकोमा रू ५०,०००।- रकम रुपा रानाको उपचारका लागि प्रदान गर्न सक्षम भइयो ।
३. रक्तदान कार्यक्रम : रक्तदानको माध्यमबाट जीवनदान गर्नका लागि स्थानिय स्तरमा लामो समयदेखि अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको संगम युवा परिवारले यो आ.व. मा पनि २०७५ असोज २४ गते रक्तदान कार्यक्रम संचालन गरियो । यो कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं १ र २ का ५३ रक्तदाताहरूले रक्तदान गर्नुभएको थियो ।
४. देउसे नाच : हामीले संचालन गर्ने हरेक कार्यक्रमहरूको सफलता स्थानिय स्तरबाट प्राप्त हुने देउसी भैलोको दान लगायत सहयोगहरू नै हुन । यो आ.व. मा पनि संगम युवा परिवारले इलाइट डान्स एकाडेमीसँगको सहकार्यमा देउसे नाच संचालन गरेको थियो ।
५. सामुदायिक भवन निर्माण : साविक पृथ्वीनगर गा.वि.स. भद्रपुर नगरपालिका भइसकेको अवस्थामा थपिएका विविध प्रसाशनिक प्रावधानहरूका कारण साथै आर्थिक संकलनका हिसावले प्रतिवद्धता प्राप्त भएका रकमहरू समयमा प्राप्त नहुँदा नहुँदै पनि सामुदायिक भवन निर्माणको कार्य निकै अघि बढाउन सफल भइयो आ.व. २०७४/७५ मा । यसको छत ढलान गरि पर्खाल सम्म पुर्णताका लागि फेरी एकपटक हामी एकजुट हुन अपरिहार्य रहेको छ । म भवन निर्माणका लागि प्रतिवद्धता जनाउनुभएका तर हालसम्म प्रदान गरिनसक्नुभएका सम्पुर्ण सदस्यज्युहरूमा भवनको अवस्था हेरेर, मनन गरेर यथासक्य चाँडो यसको पुर्णतालाई सहजिकरण गरिदिनुहुन अनुरोध समेत गर्दछु ।
६. खुला दिसामुक्त अभियानमा संलग्नता : राष्ट्रिय अभियानहरू वास्तवमै हाम्रो पनि जिम्मेवारीहरू हुन । यहि जिम्मेवारी बहन गर्नका लागि हामी संगम युवा परिवारको टिम वडालाई खुला दिसामुक्त बनाउने अभियानमा सामुहिक छलफलदेखी घरदैलो कार्यक्रम सम्म सरिक भयौं । वडा खुला दिसामुक्त हुँदा संगम युवा परिवारले प्राप्त गरेको कदर-पत्रले हामीलाई आगामी दिनमा समेत निरन्तर राष्ट्रिय अभियानहरूमा अगाडी बढ्न हौसला प्रदान गरेको छ ।
. बालमैत्री स्थानिय शासनयुक्त भद्रपुर नगरपालिका अभियानमा समावेश : भद्रपुर नगरपालिकालाई बालमैत्री स्थानिय शासनयुक्त बनाउने अभियानमा नगरस्तरिय छलफलहरूमा सहभागी हुन पाउनु हाम्रो लागि खुशिको कुरा हो । अब यसको हाम्रो स्थानिय स्तरमा पूर्ण कार्यान्वयनका लागि लाग्नुपर्ने दिन आएको छ ।
८. सडक दुर्घटना न्युनिकरण कार्यक्रम : संगम युवा परिवारले भद्रपुर नगरपालिका वडा नं २ को सगरमाथादेखी भद्रपुर नगरपालिका वडा नं १ को सिंगिमाडी सम्म जोड्ने सडक कालो पत्रे भएपछी बडेका दुर्घटनाहरू कम गर्नका लागि सडक दुर्घटना न्युनिकरण कार्यक्रम अन्तर्गत सडकमा अति दुर्घटना  ग्रस्त क्षेत्र अंकित बोर्डहरू राख्ने काम सम्पन्न गर्‍यौं । यसले सडक दुर्घटनाहरू बोर्ड राखिएको स्थानमा कम भएको हामीले महशुस गरेका छौं ।
९. सविता भारती बचाउ अभियान : भद्रपुर नगरपालिका वडा नं २ कि सविता भारती दुबै मृगौलामा समस्या भएर पनि आफ्नो आर्थिक अवस्थाका कारणले उपचारमा समस्या भोगिरहेकि थिइन । किच्चकवध मेलाको अवसर पारेर हामीले साँस्कृतिक कार्यक्रम मार्फत सविता भारती बचाउ अभियान शुरू गर्‍यौ । यो अभियान सविता भारतीको उपचारका लागि देश विदेशबाट निरन्तर सहयो प्राप्त हुँदै चलिरह्यो । संगम युवा परिवारले प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सेवा केन्द्र भद्रपुर २ सगरमाथामा सबिता भारती उपचार कोष नामको खाता संचालन गरेको थियो । २४४,००० भन्दा बढी जम्मा भएको कुरा प्रष्ट हुन्छ सो खाताबाट । उनको स्वास्थ्य स्थितिको सुधारले हामीलाई अत्यन्त खुशी लागेको छ ।
१०. स्वास्थ्य शिविर संचालन : भद्रपुर नगरपालिका, पृथ्बीनगर स्वास्थ्य चौकी, ओम साइ पाथिभरा हस्पिटल र संगम युवा परिवारको सहकार्यमा भद्रपुर २ को सगरमाथामा २०७४ चैत्र २९ गते एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन गरियो । विभिन्न स्वास्थ्य समस्या भएका १५४ जनाले स्वास्थ्य सुविधा साथै औषधी समेत निशुल्क रुपमा प्राप्त गर्नुभएको थियो ।
११. दुर्गा थापा मगर उपचार सहयोग : भद्रपुर २ गौरीशंकर निवासी दुर्गा थापा मगरको अचानक भएको मस्तिष्क पक्षघात र वहाँको स्वास्थ्य स्थिती र आर्थिक अवस्थालाई मध्यनजर गरी कमलधाप संयुक्त धार्मिक स्थल क्षेत्रमा बुद्ध पुर्णिमामा लागेको मेलाको अवसर पारेर साँस्कृतिक कार्यक्रम मार्फत सहयोग संकलन कार्यक्रम शुरुवात गरियो । देश विदेशका विभिन्न सहयोगी मनहरूको सहयोगको कारणले रू ७३,०००।– संकलन गर्न सक्यौं ।
यसरी संगम युवा परिवार स्थानिय स्तरमा विभिन्न कार्यक्रमहरू संचालन मार्फत त्यसको प्रत्यक्ष प्रभाव स्थानियवासीहरूलाई छोडिरहेको छ । माथि उल्लेख गरिएभन्दा अन्य गतिविधीहरूमा किच्चकवध र कमलधाप क्षेत्रको आवश्यकता अनुरूप सरसफाई तथा संवर्द्धनका क्रियाकलापहरू रहेका छन । मैले यहाँ प्रस्तुत गरेका सम्पुर्ण गतिविधीहरू संचालन गर्नका लागि संगम युवा परिवारको टिमलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा देश विदेशका हरेक कुनामा रहेर  सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु । यसरी नै हाम्रा हरेक कार्यक्रमहरूलाई सफल बनाउन गएको आर्थिक वर्षमा इलाइट डान्स एकाडेमी परिवारले पुर्‍याएको योगदानको उच्च कदर गर्दै विशेष धन्यवाद अर्पण गर्न चाहन्छु । साथै स्थानिय स्तरका संघ संस्थाहरू सगरमाथा मा.वी., सनातन धर्म सेवा समिति, विशाल युवा परिवार, युथ  युनियन क्लब, कोसेली समाज परिवार, किच्चकवध ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समिति लगायत सम्पुर्णमा समेत आभार प्रकट गर्न चाहन्छु ।  प्रतिभावान व्यक्तित्वहरू सक्षम तामाङ्, रोमन जोगी, भिम बराइली का साथमा मैले नाम राख्दै जाँदा लामो हुने कारणले नाम छुटाएका छुटाउन नमिल्ने अन्य प्रतिभाहरूलाई समेत एकमुष्ट आभार प्रकट गर्न चाहन्छु । यहाँहरूको निरन्तर सल्लाह, सुझाव र सहयोगको लागि समेत हार्दिक अनुरोध गर्दछु ।
गत आर्थिक वर्षमा हामीले चाहेर पनि गर्न नसकेका तथा गर्न नपाएका केहि हाम्रा चाहनाहरू :
१.      सामुदायिक भवनको सम्पन्नता
२.      सर्पदंश सम्वनधी अभिमुखिकरण/सचेतना
३.      सीपमुलक तालिम संचालन
४.      शैक्षिक गुणस्तरको लागि शिक्षा क्षेत्रसँगको सहकार्य

अवका दिनमा यि चाहनाहरू पुरा गर्दै अघि बढ्नुपर्ने मैले महशुष गरेको छु । यो भन्दा अघि नै प्रस्तुत गरिएका यि कार्यक्रमहरू अझै पनि समय सापेक्ष भएकोले यसको संचालनमा विशेष जोड रहने कुरा समेत यहाँहरूमा जानकारी गराउन चाहन्छु ।
क)     युवा पलायनताको स्थितीलाई निरुत्साहित पार्दै स्थानिय स्तरमा रोजगारि सिर्जना गर्नका लागि युवा लक्षित क्षमता अभिवृद्धिका कार्यक्रमहरू संचालित गरिनेछन ।
ख)    वाल मैत्री स्थानिय साशनको मुल मर्मलाई आत्मसात गरि स्थानियहरूलाई सचेतना जगाँउदै बालबालिकाको क्षमता अभिवृद्धि तथा निर्णय क्षमतालाई सघाउ पुर्‍याउने कार्यक्रमहरू संचालन गरिनेछ ।
ग)      स्थानिय पर्यटकीय क्षेत्रहरूको संरक्षण, संवर्द्धन तथा प्रचार प्रसारमा विशेष पहल गरिनेछ ।
घ)     वातावरण मैत्री स्थानिय साशनलाई स्थानिय गाउँ, टोल, समुदायबाटै कार्यान्वयन गराउने गरि कार्यक्रमहरू संचालन गरिनेछ ।
ङ)     सामुहिक भावनाको जागृत गराउँदै स्वयंसेवी क्रियाकलापहरूको लागि अभियान संचालन गरिनेछ ।
च)     स्थानिय स्तरका संघ संस्थाहरू सँग सहकार्य गरि अघि बढिनेछ ।
छ)     स्थानिय स्तरमा रहेका पर्यटनका संभावनाहरूलाई अघि बढाउन प्रचारात्मक तथा प्रवर्द्धनात्मक क्रियकलापहरू संचालन गरिनेछ ।
ज)     सामुदायिक विद्यालयहरूको सुदृढिकरणका लागि विद्यालय, अभिभावक तथा विज्ञहरूसँगको सहकार्यमा विशेष पहल गरिनेछ ।
झ)     प्रतिभा प्रस्फुटन र प्रवर्द्धनका लागि योजनासहित अघि बढिनेछ ।
ञ)     वालवालिका, युवा तथा ज्येष्ठ नागरिकहरू सम्पुर्णहरूसम्म पुग्ने गरि कार्यक्रमहरूको तर्जुमा गरिनेछ ।
ट)      स्थानिय तहसँगको सहकार्यमा विशेष जोड दिइनेछ ।
माथि उल्लेखित निती नियम अनुरुप काम कारवाही सञ्चालनका लागी निम्न तवर तरिका तथा प्राथमिकता अनुरुप कार्य सञ्चालन गरिनेछ :
क)     विभिन्न उप-समितिहरू मार्फत अलग अलग विधाका कार्यक्रमहरू सञ्चालन र सहजीकरण हुनेछन ।
ख)    संगम बाल अभिमुखिकरण सामुदायिक भवनको सम्पन्नता यथाशिघ्र सुनिश्चितका लागि प्रयत्न गरिनेछ ।
ग)      आन्तरिक स्रोत सँगसँगै अन्य स्रोतहरूको लागी समेत अघि बढिनेछ ।
घ)     निरन्तर बैठक तथा छलफलको माध्यम नै संस्थाको निर्णय गर्ने आधार हुनेछ ।
ङ)     नवीकरण गरिरहने सदस्यता प्रणाली अलि झन्झटिलो भएकोले आजीवन सदस्यतामा जोड दिइनेछ ।
च)     प्राथमिकिकरण अनुसार कार्यक्रमहरू लाई अघि बढाईनेछ ।
गत वर्ष २०७४ साल भदौ  गते अध्यक्षको जिम्मेवारी ३ वर्षलाई लिएपश्चात हाम्रा सदस्य, विभिन्न संस्था, व्यक्ति, समुह तथा क्षेत्रका सरोकारवालाहरूसँग काम गर्दै अघि बढ्दै जाँदा भर्खर भर्खर केहि गर्न सकिएला कि भन्ने अवस्थामा अचानक स्वास्थ्यमा देखिएको समस्याले आफ्नो जिम्मेवारि पुरा गर्ने चाहना र रहरहरूलाई कुण्ठित पार्दै आगामी दिनमा यहि स्वास्थ्य अवस्थामा अध्यक्ष भएर जिम्मेवारी वहन गर्न नसक्ने जानकारी समेत यहाँहरूमा गर्दै पुनश्च एकपटक यहाँहरूको सम्पुर्ण सल्लाह, सहयोग र सद्भावका लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु साथै यो प्रतिवेदन यहि समाप्त भएको जानकारी गराउँदछु ।

चन्द्र कुमार गिरी
अध्यक्ष

Read More »